समाचार
कुमाखक्षेत्रमा रहेकाे पर्यटकीय स्थल तिला स्मृति सिद्द गुफाकाे अवलाेकन
धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाखक्षेत्र र सिद्द गुफा
समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो ।साविककाे जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।
पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाहरुमा रहेका विभिन्न खालका आकृतिहरु निकै रमणीय रहेका छन् ।’
कुमाख प्राकृतिकरुपमा निकै मनोरम रहेको छ । कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरु एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न सकिने र कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।
कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडिबुटी, बस्नपति, फूलहरु पनि पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुङ्गी र जंगली जनावरहरु पनि कुमाख पहाडका आसपासमा रहेका जंगलमा पाइने गरेका छन् । पहाडमा रहेका गुफा, खोंच र वनजंगल निकै बाक्लो रहेकाले पनि जंगलमा राते मृग, घोरल, चितुवा रहेको स्थानीयको भनाई छ ।
कुमाखलाई दृश्यावलोकनका लागि भ्यूटावरको रुपमा विकास गर्न सके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको गन्तव्य कुमाख बन्न सक्ने निश्चित छ । कुमाख पहाड भएर ढोरचौर–गुरुदासे–स्यानीपिपली सडक, थारमारे–चौरपानी–ओखरबोट गुरुदासे सडक निर्माण गरिएको छ । दुबैतिरबाट कुमाखको टुप्पोमा पुग्न उकालो एक घण्टा पैदल यात्रा गरे टुप्पोमा पुग्न सकिन्छ । कुमाखको टुप्पोमा अहिले दक्षिण पश्चिम मोहडाबाट आरोहण सहज रहेको छ । प्राकृतिक एवं धार्मिक पर्यटकहरुको लागि अध्ययन, अनुगमन र दृश्यावलोकन गर्नका लागि कुमाख पहाड राम्रो गन्तव्य बन्न सक्छ ।
धार्मिक विश्वासका साथ भक्तजनहरुले कुमाखमा रहेको सिद्ध मन्दिरमा चतुर्दशी र कोजाग्रत पूर्णिमाको दिन पूजा आरधनाका गरिन्छ । कुमाखमा कोजाग्रत पूर्णिमाका दिन सिद्ध मन्दिरदेखि १ किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा मेला (जात्रा) लाग्ने गर्दछ । मेलामा आसपासका विभिन्न गाउँका मेलारुहरुले स्थानीय लोकसंस्कृति झल्कने बनगाडी, टप्पा, सोरठी, पैसेरी, दोहरी ,सेरेङ्गेजस्ता नाच प्रदर्शन गर्ने गर्दछन् । पूर्वाधारको निर्माणको साथै प्रचारप्रसार गर्न सके यसबाट आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रुपमा कुमाख पहाड पर्यटन गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।